निलम्बित न्यायाधीश भुवन गिरीलाई पाटन उच्च अदालतले बलात्कारको अभियोगबाट सफाइ दिएपछि उनलाई कारागारबाट रिहा गरिएको छ।
डिल्लीबजार कारागार कार्यालयका जेलर शेरबहादुर थापाले गिरीलाई सोमबार बिहान रिहा गरिएको जानकारी दिए।
“उच्च अदालतको आदेश आइतबार साँझ प्राप्त भएको थियो। आज बिहान १० बजेपछि उनलाई रिहा गरियो,” थापाले भने।
गत वर्ष जेठ १२ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। उनलाई असार २८ गते सात वर्षको कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
आइतबार न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई बलात्कार मुद्दामा सफाइ दिँदै जिल्ला अदालतको फैसला उल्टाएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन्।
कपिलवस्तुमा जिल्ला न्यायाधीश रहँदा गिरीकी पत्नीले उनको विरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। उक्त उजुरीको अनुसन्धानपछि अदालतमा मुद्दा दायर भएसँगै न्याय परिषद्ले गिरीलाई निलम्बन गरेको थियो।